अत्याधुनिक प्रविधिको क्यान्सर अस्पताल बिर्तामोडमा, एक मिनेटमा रेडिएसन दिन सकिने

बिर्तामोड । दक्षिण एसियामै पहिलोपटक झापाको बिर्तामोडमा अत्याधुनिक प्रविधिसहितको क्यान्सर अस्पताल सञ्चालनमा आउने भएको छ । नयाँ प्रविधिका साथ बिर्तामोडमा स्थापना भएको पूर्वाञ्चल क्यान्सर अस्पतालको जनवरी १ अर्थात १६ पुस बाट सेवा सुरु हुने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले जानकारी दिए ।

अस्पतालले नेपालमै पहिलोपटक नयाँ प्रविधि भित्र्याएको र दक्षिण एसियामा यो प्रविधिको पहिलो सेवा र्बिामोडबाट हुने प्रसाईंको दाबी छ । चार सय करोड लगानीमा सञ्चालनमा आएको अस्पतालमा क्यान्सरका बिरामीलाई एक मिनेटमा रेडिएसन दिन सक्ने ‘ट्रयू बिम लिनियर एक्सेलेरेटर’ मेसिन राखिएको छ । यो मेनि पहिलोपटक नेपाल भित्र्याइएको प्रसाईंको भनाई छ ।

अस्पताल दक्षिण पूर्वीएसियाकै नमुना भएको अस्पतालले जनाएको छ । क्यान्सरको अवस्था जाँचका लागि ‘पेट सिटी स्क्यान’ म्यासिन पनि अस्पतालमा ल्याइएको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्र यादवले जानकारी दिए । ‘यो प्रविधि नेपालमै पहिलो हो’, उनले भने, ‘यसका लागि दिल्ली वा सिंगापुर जानुपथ्र्यो । अब त्यो बाध्यता हट्यो ।’

यस्तै, अस्पतालमा महिलाको स्तन क्यान्सर पत्ता लगाउन अत्याधुनिक प्रविधि सहितको डिजिटल थ्रीडि म्यामोग्राम समेत ल्याइएको छ । प्रसाईंले नै सञ्चालन गरेको बि एण्ड सी अस्पताल हाताभित्र रहेको यो अस्पतालमा शल्याक्रियाका लागि पाँचवटा मोडुलर शल्यक्रिया कक्ष रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले सेवा सुरु गरेको दिन पहिलो सेवाग्राहीलाई निःशुल्क रेडिएसन दिइने निर्देशक प्रसाईंले बताए । ‘हामीले अस्पताल सुरु गर्दा सामाजिक उत्तरदायित्वलाई पनि ख्याल गर्नुपर्छ’, उनले भने, ‘अस्पताल सुरु भएको अवसरमा हामी एकजना बिरामीको सम्पूर्ण खर्च आफैं ब्यहोर्छौं ।’ अस्पतालको सेवा सुरु हुनुअघि नै ४० जना बढी बिरामी आइसकेको मेडिकल डाइरेक्टर यादवले बताए । अन्य अस्पतालमा उपचार गराएका र भारतको विभिन्न ठाउँका बिरामी पनि आइरहेको उनको भनाइ छ ।

Back to top button