प्रदेश १ का शैक्षिक संस्थामा जंकफुडमा प्रतिबन्ध

विराटनगर । प्रदेश सरकारले प्रदेश १ का शिक्षण संस्थामा जंक फुड (रद्धि खाना) पूर्ण प्रतिबन्ध लगाउने भएको छ ।

शिक्षण संस्थामा जंक फुड बन्द गर्न र सुर्तिजन्य पदार्थको बिक्री वितरण र सेवनलाई निषेधित गर्दै लैजान अभियानै सुरु गरेको प्रदेश सरकारले यो अभियानलाई प्रभावकारी बनाउन सबै स्थानीय तह र स्वास्थ्य प्रमुखलाई निर्देशन समेत दिएको छ ।

पहिलो चरणमा स्थानीय तहका जनप्रतिनिधिको सहभागितामा प्रत्येक विद्यालयमा जनचेतना मुलक कार्यक्रम गर्ने र बन्द गर्न निर्देशन दिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । बुधबार यो अभियानको प्रदेश १ को राजधानी विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सुरुवात गरे ।

स्थानीय तहको सहयोगमा सञ्चालन गरिने यो अभियानमा स्वास्थ्य बीमा कार्यक्रमलाई शतप्रतिशत लागू गराउन जनप्रतिनिधिहरुलाई सक्रियताका साथ परिचालन गरिने समेत सामाजिक विकास मन्त्री घिमिरेले बताए ।

पछिल्लो समय प्रदेश १ मा नागरिकहरुको जीवनशैली र अखाध्य वस्तुको प्रयोगका कारण नसर्ने रोग बढ्दै गरेको तथ्याङ्क सामाजिक विकास मन्त्रालयले प्रस्तुत गरेको छ । नसर्ने रोगकै कारण मृत्यु दर बढेको र खानपानमा आएको परिवर्तनले स्वास्थ्यमा समस्या देखिएकोले प्रदेश १ को सामाजिक विकास मन्त्रालयले यो अभियान शुरु गरेको मन्त्रालयले जनाएको छ ।

अभियानको उद्धघाटन गर्न विराटनगर आएका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भने सरकारी स्वास्थ्य संस्थाहरुमा देखिएको बेथिति हटाउन सरकार क्रियाशील रहेको बताए । मन्त्री ढकालले स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न स्थानीय, प्रदेश र संघीय सरकारले एकीकृत प्रयास गर्नुपर्ने समेत धारणा राखे ।

Back to top button