Trending

ओखलढुंगामा विमान पुगेपछि मन्त्री योगेशले लेखे : ‘उडान सफल भएकोमा खुशी छु’ (फोटो फिचर)

विराटनगर । ओखलढुंगाको खिजीदेम्वा स्थित खिजीचण्डेश्वरी विमानस्थलमा सोमबार परीक्षण उडान गरिएको छ । तारा एयरको नाइन एन एइभी विमानले परीक्षण उडान गरेको हो ।

पर्यटनमन्त्री योगेश भट्टराई र संघीय संसदको विकास समितिको टोली सहित गरिएको परिक्षण उडान सफल भएको तारा एयरले जनाएको छ । पर्यटकीय क्षेत्रलाई लक्षित गरेर निर्माण थालेको उक्त विमानस्थल निर्माण गत हप्ता मात्रै पुरा भएको थियो ।

निर्माण सकिनासाथ परीक्षण उडान भरेर सुधार तथा नियमित उडानका लागि पहल थालिएको पर्यटनमन्त्री भट्टराईले बताए । उनले विमानस्थल थप चौडा बनाएर कालोपत्रे गर्न पहल गर्ने प्रतिबद्धता जनाए । खिजी क्षेत्रको पर्यटन विकासका लागि पूर्वाधार निर्माणमा मन्त्रालयले बजेट व्यवस्था गर्ने भट्टराईको भनाई छ ।

ओखलढुंगाहुँदै सगरमाथा जान अति उपयुक्त पदमागका बीचमा रहेको विमानस्थल नियमित चल्न सके पर्यटक भित्र्याउन सहज हुने स्थानीय बताउँछन् । पर्यटकीय क्षेत्रको विकासमा मन्त्रालयले बजेट व्यवस्था गरेर पर्यटन वर्ष २०२० मा हजारौं पर्यटक खिजी क्षेत्रमा आकर्षित गर्न सहयोग गर्न माग गरिएको पर्यटन व्यवसायी पेम्वा शेर्पाले बताए । मन्त्री भट्टराईले स्थानीयको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएर फर्किएका छन् ।

यो विमानस्थल सम्पन्न गर्नै १३ वर्ष लागेको थियो । ३ करोड बढी खर्चेर बनाइएको उक्त विमानस्थल ०६३ सालमा निर्माण सुरु भएको थियो । यस स्थानमा नियमित उडान भएमा खिजीसम्म जहाजमा आएका पर्यटकलाई देम्वा, पिकेहुँदै सगरमाथा जान पदमार्ग सहज छ । प्लेन मार्फत जानका लागि समेत मन्थली भन्दा नजिक पर्छ । यो विमानस्थलबाट ४ घण्टा पैदल दूरीमा नेपालका ७ अग्लामध्येको एक देम्वाडाँडा समेत रहेको छ । यो विमानस्थलको रनवे ४० मिटर चौडा र पाँच सय ८० मिटर लामो छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले विमानस्थल पुगेर फर्किइपछि खिजिदेम्बा विमानस्थलमा परीक्षण उडान सफल भएकोमा खुशी व्यक्त गरेका छन् । फेसबूकमा स्टेटस लेख्दै मन्त्री भट्टराईले निर्माण कार्य पूरा गरी आवश्यक प्राविधिक तयारी गरी छिट्टैनै नियमित उडान गरिने जनाए । (तस्वीर : योगेश भट्टराईको फेसवुकबाट)

Back to top button