सुनसरीमा जमिन मुनि ९ हजार थान गोली र हतियार !

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ५ स्थित एकता टोलबाट अत्याधुनिक हतियार एसएमजीसहित ९ हजार बढी गोली बरामद गरिएको छ। आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले भरौलमा स्थानीयको कुखुराको खोरमा जमिन मुनि गाढेर राखेको उक्त हतियासहित ठूलो परिणाममा गोली बरामद गरेको हो।

गोली र हतियार जमिन मुनि राखिएको गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा उक्त हतियार र गोली बरामद गरिएको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिए। घटनास्थलमा बरामद गरिएको हतियारबारे प्रहरीले मुचुल्का तयार गरिरहेको छ ।

बरामद गरिएको हतियार तत्कालीन माओवादीले सेना समायोजनका बेला लुकाएर राखेको हुनसक्ने अनुमान गरिएको छ। ठूलो परिणाममा गोली र अत्याधुनिक हतियार बरामद गरेपछि भरौलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ। प्रहरीले यस अगाडि पनि धरानबाट एकथान एसएलआर र एकथान एम १६ हतियारसहित विप्लव कार्यकर्तालाई पक्राउ गरेको थियो।

Back to top button