शीतलहरबाट जोगाउन विपत् समितिको आकस्मिक बैठक

विराटनगर । मोरङमा चिसो ह्वातै बढेर जनजिवन प्रभावित बनेपछि जिल्ला विपत् व्यवस्थापन समितिको आकस्मिक बैठक बसेको छ । शुक्रबार बसेको बैठकले आम–नागरिकलाई जोगाउन सबैले सामूहिक जिम्मेवारी बहन गर्नुपर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।

शीतलहरले विशेषगरी तराईका जिल्लाहरुमा बढी असर गर्ने भएकाले मोरङका प्रभावित क्षेत्रमा आवश्यक पर्ने कम्बल, दाउरा र चिकित्सक उपलब्ध गराउने तयारी गरेको प्रजिअ भुजेलको भनाई छ । ‘सबै स्थानीय तहका प्रमुख, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, उद्योग सङ्गठन, मोरङ व्यापार सङ्घ, विराट व्यापार सङ्घ कोसी अस्पतालका चिकित्सक, जिल्ला वन कार्यालयका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालय र विपदमा राहतका काम गर्ने सबै निकायको सहयोग लिएर शीतलहर प्रभावित क्षेत्रमा जनसेवाको काम गर्ने बैठकमा निर्णय भयो,’ उनले भने ।

शीतलहरबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि मोरङमा पनि आकस्मिक बैठक बसेको बताइएको छ । चिसो बढेसँगै मोरङमा दमको रोगीको चापसँगै बालबालिकाहरुलाई पनि चिसोले दुःख दिएर उपचार गराउन आउनेको सङ्यामा वृद्धि भएको कोसी अस्पतालकी डा सन्ध्या ज्ञवालीले जानकारी दिइन् ।

मोरङका धेरै स्थानीय तहले शीतलहरबाट बचाउन कम्बलको व्यवस्था गरेका छन् । तीन दिनदेखि बढ्दै गएको चिसोले मोरङको जनजीवन कस्टकर बन्दै गएको छ ।

Back to top button