
काठमाडौँ । नागरिकता संशोधन कानुनको विरोधमा भारतका विभिन्न स्थानमा लगातार प्रदर्शन भइरहेको छ । बिहीबार अलग–अलग संगठनका तर्फबाट देशव्यापी विरोध प्रदर्शन भयो ।
ती विरोध प्रदर्शनहरुमा अहिलेसम्म तीनजना मारिएका छन् । सयौँ प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ । यसैबीच विरोध प्रदर्शन बढेपछि प्रशासनले राजधानी दिल्लीसहित उत्तर प्रदेश र कर्नाटकमा धारा १४४ लागु गरेको छ।
थुप्रै स्थानमा इन्टरनेट सेवा बन्द गरिएको छ । दिल्लीमा रेल्वे सेवा पनि बन्द गरिएको छ । समाचार एजेन्सी पिटिआईका अनुसार कर्नाटकमा विरोध प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएपछि दुईजनाको मृत्यु भएको छ ।
केही प्रदर्शनकारीले प्रहरीचौकीमा आगजनीको प्रयास गरेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ। त्यहाँ अहिले कर्फ्यू लगाइएको छ । एक अर्का व्यक्तिको मृत्यु उत्तरप्रदेशको राजधानी लखनउमा भएको छ । त्यहाँ प्रदर्शनकारी र प्रहरीबीच झडपमा क्रममा एक प्रदर्शनकारीको मृत्यु भएको हो ।