संसद्‍को हिउँदे अधिवेशन सुरु, उपसभामुखको अध्यक्षतामा पहिलो बैठक

काठमाडौं । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को पाँचौँ अधिवेशन नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ। प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले गरेकी छन्। उनले सांसदलाई स्वागत गर्दै हिउँदे अधिवेशन प्रारम्भ भएको घोषणा गरिन्। अपराह्न ४ बजे तोकिएको बैठक ४स्१५ बजे प्रारम्भ भएको थियो।

नेपालको संसदीय इतिहासमा उपसभामुखले अध्यक्षता गरेर अधिवेशनको प्रारम्भ गरेको सम्भवतः यो पहिलो घटना हो। विधेयक अधिवेशनलाई यस पटक सभामुख चयन गर्नेुपर्ने दायित्वसमेत थपिएको छ। सङ्घीय संसद् सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुव्र्यवहार गरेको अभियोग लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले पदबाट राजीना दिएका थिए। उनी अहिले कारागारमा छन्। महरा जेल चलान भएपछि हाल सभामुख पद खाली छ।

सभामुख रिक्त हुनाले उपसभामुख तुम्बाहाङ्फेले अधिवेशन प्रारम्भ भएको घोषणा गरेकी हुन्। यौन दुव्र्यवहार आरोप लागेपछि सभामुखबाट राजीनामा दिनुभएका महरा अहिले अदालतको आदेशमा अनुसन्धान र पुर्पक्षका लागि थुनामा छन्। संसदको बहुमतप्राप्त दल नेकपाले कसलाई सभामुख बनाउने भन्नेबारे निर्णय गरिसकेको छैन। सभामुख र उपसभामुख फरक राजनीतिक दल र फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ।

उक्त व्यवस्थानुसार उपसभामुखलाई नै सभामुख बनाउने वा उनलाई राजीनामा गराएर अर्को सभामुख चुन्ने भन्ने प्रश्नको सम्बोधन हुन बाँकी नै छ। नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक र सङ्घीय निजामती सेवा गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राजनीतिक सहमतिपछि यस अधिवेशनले अन्तिम रुप दिनुपर्ने कार्यभार छ। बैठकको प्रारम्भमा उससभामुख तुम्बाहाङ्फेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को पाँचौँ अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनःगठनसम्बन्धी प्राप्त पत्र पढेर सुनाइन्।

लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि योगदान पुर्‍याउने ज्ञातअज्ञात शहीदप्रति एक मिनेट मौनधारण पनि गरिएको थियो। राष्ट्रपति भण्डारीले गत मङ्सिर २४ गते सङ्घीय संसद्को पाँचौँ अधिवेशन शुक्रबारदेखि शुरु हुने गरी आह्वान गरेकी थिइन्। शुक्रबारको बैठकमा उपसभामुखले अध्यक्षता गरेसँगै संसदीय इतिहासमा दुई नयाँ परम्परा स्थापित भएका छन्। कार्यव्यवस्था परामर्श समितिको अध्यक्षता गरेकी उपसभामुखले बैठकको अध्यक्षतासमेत गरेकी हुन्। अर्को बैठक पुस ११ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।

Back to top button