साल्ट ट्रेडिङको जग्गामा औद्योगिक ग्राम बनाउन माग

विराटनगर । प्रदेश १ का उद्योगी व्यवसायीले सुनसरीको अमडुवा स्थित साल्ट ट्रेडिङको स्वामित्वमा रहेको जग्गामा औद्योगिक ग्राम बनाउन माग गरेका छन् । कोशी करिडोरका जिल्ला र नगर उद्योग वाणिज्य संघमा आबद्ध व्यवसायीले साल्ट ट्रेडिङको स्वामित्वमा रहेको ६ सय ५० बिघा जग्गालाई औद्योगिक ग्राम बनाउँदै औद्योगिक उत्पादन र कृषि उपजको प्रदर्शनीका लागि अन्तराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न माग गरेका हुन् ।

बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनिहरुले अब एकिकृत रुपमा औद्योगिक क्षेत्रको विकास नभए उद्योगक्षेत्र नफस्टाउने बताए । ‘सरकारले यस वर्षदेखि लागु गरेको प्रावधानहरु पूर्वाधार अभाव र व्यवसायीलाई जानकारी नहुँदा कार्यान्वयनमा कठिन भएको छ, सूसुचित गरेर मात्र सरकारले कार्यान्वयन गर्नुपर्छ, हामिले राखेको मागमा सरकार गम्भिर बनोस,’ उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले भने । उनले साना उद्योगहरुलाई करका सम्बन्धमा दिइएको हालको २० लाखको थ्रेसहोल्डलाई बढाएर कम्तीमा ५० लाखसम्म पु¥याउन पनि आग्रह गरे ।

बैंक तथा वित्तिय संस्थाहरुको चर्को व्याजले उद्योगीमा समस्या परेको बताउँदै उद्योगीले बैंक र बिमा कम्पनीहरुको अघोषित सिण्डीकेट तोडेर उद्योगमा बढिमा ७ प्रतिशत र वाणिज्य व्यापारमा ९ प्रतिशतमा ब्याजमा नबढाई सरलिकृत कर्जा उपलब्ध गराउन माग समेत गरेका छन् ।

उद्योगीले प्रदेश १ मा उद्योगको विकास गर्न सकिने आधार तय गर्दै १३ बुँदे घोषणापत्र समेत सार्वजनिक गरेका छन् । घोषणापत्रमा सरकारले उद्योगीलाई कर संकलन गर्ने स्रोतका रुपमा मात्रै लिएको र दण्डको बढी व्यवस्था गरेकोमा आपक्ती समेत जनाएका छन् । उनिहरुले नापतौलका सन्दर्भमा सामान्य मानवीय त्रुटीमा पनि अपराधिलाई झै जेल सजाय समेतको प्रावधानलाई सच्याउन सरकार समक्ष आग्रह गरेको छ । खुला सीमाका कारण हुने चोरी निकासीलाई पूर्णरुपमा बन्द गर्न तथा स्वदेशी उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्न भन्सार कडाई गर्न माग समेत गरे ।

यस्तै उद्योग वाणिज्य क्षेत्र मुलुकको आर्थिक विकासको सहयात्री समेत रहेको भन्दै उद्योगी व्यवसायीहरुलार्य राज्यले निर्दिष्ट गरेको नीति नियम र प्रावधानहरु सिक्दै पालना गर्न आव्हान गरेको छ । यस्तै उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संंयुक्त पहलमा गठन भएको कार्यदलले प्रधानमन्त्री र अर्थमन्त्रीलाई पेश गरेको प्रतिवेदन अविलम्ब कार्यान्वयनमा ल्याउन माग गरेको छ ।

Back to top button