
नयाँदिल्ली । अजय देवगनको नयाँ फिल्म ‘तानाजी’ विवादमा मुछिएको छ । अखिल भारतीय क्षेत्रीय कोली राजपुत संघले दिल्ली उच्च अदालतमा फिल्म विरुद्ध मुद्दा दायर गरेको हो । जहाँ निर्देशक ओम राउतले फिल्ममा तानाजीको असली वंश नदेखाएको आरोप लगाइएको छ ।
उनीहरुले अदालतसँग सेन्सर बोर्डलाई उक्त फिल्मलाई सर्टिफिकेट नदिन आग्रह गरेका छन् । उक्त मुद्दाको सुनुवाइ आगामी डिसेम्बर १९ मा हुने बताइएको छ । फिल्मले तानाजी भन्दै मराठा समुदायलाई देखाएको संघको आरोप छ । जब कि, तानाजीको खास वंश क्षेत्रीय महादेव कोली रहेको विश्वास छ ।
त्यसो त, फिल्मको उक्त नामबारे पनि यसअघि नै विवाद भइसकेको थियो । मराठी जानकारहरुले निर्माताले असली नाम ‘तानाजी’लाई तोडमोड गरी ‘तान्हाजी’को रुपमा प्रस्तुत गरिएको टिप्पणी गरेका छन् ।
तर निर्देशकले जवाफ दिँदै भनेका छन्, ‘इतिहासको पाना पल्टाउनुस्, त्यहाँ पनि उनको नाम तान्हाजी नै छ ।’ संयोगवश अभिनेता अजय देवगनको यो १ सयौं फिल्म हो । यस फिल्ममा अजयसँगै काजोल, सेफ अली खान, शरद केलकर, ल्युक केनी, जगतपति बाबु लगायतको अभिनय छ । फिल्म आगामी जनवरी १० मा सार्वजनिक हुने बताइएको छ ।