स्वदेशी वस्तुको प्रबद्र्धन गर्न जुत्ता चप्पल मेला

विराटनगर । स्वदेशी जुत्ता चप्पलको प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरमा सोमबारबाट जुत्ता–चप्पल व्यापार मेला सुरु भएको छ । ‘स्वदेशी वस्तुको प्रबद्र्धन हाम्रो अभियान’ भन्ने नारासहित नेपाली जुत्ता घरले आयोजना गरिएको सो मेलामा १५ देखि ६० प्रतिशत सम्म छुटको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

व्यापार मेलाको एक कार्यक्रमका बिच प्रदेश १ का पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री जगदिश कुसियतले उद्घाटन गरे । मेलाको उद्घाटन गर्दै मन्त्री कुसियतले स्वदेशी उद्योग स्थापना र प्रबद्र्धन गर्न प्रदेश सरकारले विशेष गृहकार्य गरिरहेको बताए । उनले बैंकको चर्को व्याजदर र अर्कोतर्फ जग्गाको अत्यधिक मूल्यका कारण उद्योग खोल्न गाह्रो भइरहेकाले प्रदेश सरकारले औद्योगिक ग्राम बनाउने सोच बनाएको समेत जानकारी दिए ।

मेलामा नेपालका चर्चित विभिन्न व्राण्डका जुत्ता तथा चप्पल राखिएको नेपाली जुत्ता घरका संयोजक होमनाथ उपाध्यायले जानकारी दिए । उनका अनुसार मेलामा शिखर सुज, वि. एफ. डियर सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक, हाई लाईपल सुज एण्ड स्लीपर लगायतका व्राण्डका जुत्ता चप्पल छन् । एक महिना–सम्म आयोजना गरिएको सो जुत्ता–चप्पल व्यापार मेलामा नेपाली ६ वटा उद्योगहरुका उत्पादनहरु राखिएको छ । सो मेलामा करिब १ करोड ५० लाख रुपैयाँको कारोबार हुने बताइएको छ ।

संयोजक उपाध्यायका अनुसार नेपाली जुत्ता चप्पल उद्योगले मुलुकको करिब ६५ प्रतिशत बजार ओगटेको छ । विदेशी कच्चा पदार्थ आयात गरी विदेशी जुत्ता चप्पलसँग नै प्रतिस्पर्धा गर्नुपर्ने भएकाले नेपाली जुत्ता चप्पल केही महँगो हुने गरेको भएतापनि गुणस्तरमा भने कुनै कमी नरहेको जुत्ता चप्पल व्यवसायीहरुले बताएका छन् ।

Back to top button